पुस्तक छाप्न चाहने एउटा लेखकको व्यथा

पुस्तक छाप्न चाहने एउटा लेखकको व्यथा

RAMCHANDRA KC 

July 27, 2020

बिस्तारै मैले न्युयोर्कमा इन्टर्नसिप गर्दा पढेका पाण्डुलिपिहरू बजारमा छापिएर आएको देखेंँ । केही ठूला प्रकाशनबाट छापिएका थिए भने केही साना र मझौला प्रकाशन गृहबाट । 

 

डेभिडसँग मेरो पहिलो भेट दोस्रो इन्टर्नसिप गर्दा भएको थियो । आठौँ तलामा रहेको न्युयोर्क सेन्ट्रलपार्कमा अवस्थित त्यो लिटेरेरी एजेन्सीमा पाण्डुलिपि पढ्दै गर्दा उसको लिंक्डइन म्यासेज देखेँ । “हेलो राम, के मैले तिम्रो लिटेरेरी एजेन्सीलाई मेडिकल थ्रिलर पठाउन सक्छु ?”

 

त्यसपछि उसले मलाई इमेलमार्फत् पाण्डुलिपि पठाउन चाह्यो । अमेरिकी प्रकाशन गृहबाट आफ्नो पुस्तक छपाउने उसको योजना रहेछ ।

 

मैले डेभिडको लिंक्डइन प्रोफाइल दोहोर्याएर हेरेँ । ऊ जर्मनीको एउटा मेडिकल संस्थाको निर्देशक रहेछ ।

 

 

“डेभिड, हामी इमेलमार्फत पठाइएका पाण्डुलिपि लिन्नौं । मेल गरेर हार्डकपी नै पठाउनुपर्छ,” मैले कम्पनीकी मालिक रेचललाई नसोधी डेभिडको जवाफ फर्काएँ । अनि मैले उसलाई लिटेरेरी एजेन्सीको ठेगाना पनि पठाइदिएँ ।

 

कम्पनीकी मालिक रेचल ब्रिटिस थिई, तर उसकी सहायक क्याथरिन र अन्य तीनजना इन्टर्न भने अमेरिकी थिए ।

 

चारजना इन्टर्नमा हरेक दुईजनाले एउटै पाण्डुलिपि पढ्नुपर्थ्यो र एक पृष्ठ लामकक रिडर्स रिपोर्ट लेखेर क्याथरिनलाई बुझाउनुपर्थ्यो । अनि उसले ती दुई इन्टर्नको रिपोर्टलाई एउटै बनाएर रेचललाई देखाउँथी । रेचलले हेरेपछि भने लेखकहरूलाई इमेलमार्फत् पठाउँथी । पाण्डुलिपि पढ्ने तरिका मेरो पहिलो इन्टर्नसिपमा भन्दा यहाँ अलि भिन्न थियो । राम्रो लागे पुरै पढ्नुपर्थ्यो । नलागे सुरुका ३० पृष्ठ मात्र पढे पुग्थ्यो ।

 

रेचलसँग हाम्रो खासै कुरा हुँदैनथ्यो । भइहाल्यो भने पनि प्रायः दोहोर्याएर बोल्नुपर्थ्यो । ऊ प्रायः प्रकाशनगृहका सम्पादकसँग फोनमा व्यस्त हुन्थी । म उनीहरूको संवाद ध्यान दिएर सुन्थेँ । महत्त्वपूर्ण र लामा कुरा गर्नुपर्यो भने ऊ म बस्ने कुर्सीछेवैको सानो कोठामा जान्थी । यतिबेला भने मैले उताबाट बोलेका कुरा पनि सुन्न सक्थें ।

 

मलाई धेरै कुरा छिटो सिक्नु थियो ।

 

कहिलेकाहीँ फोनमा बोल्दा–बोल्दै रेचलले फोन आफ्नी सहायक क्याथरिनलाई दिन्थी । घरिघरि रेचलले बोल्दा–बोल्दैको फोन किन क्याथरिनलाई दिन्छे हँ ? मभित्र एक किसिमको कुतूहल उत्पन्न हुन्थ्यो ।

 

करिब तीन सातापछि मैले दुईजना इन्टर्नले डेभिडको पाण्डुलिपि पढिरहेको देखें । न्युयोर्कमै बस्ने आफ्नी छोरीसँग उसले त्यो पाण्डुलिपि पठाएको रहेछ । काम सकेर निस्कने बेलामा मैले ‘डेभिडको पाण्डुलिपि कस्तो रहेछ त रेचल’ भनेर सोधेँ । रेचललाई दोहोर्याएर सोध्नुअगावै क्याथरिनले मेरो प्रश्नको जवाफ फर्काई, “पुनर्लेखन गर्नुपर्ने रहेछ र डेभिडलाई इमेल पठाइसकेँ ।”

 

एकदिन मैले रेचल बाहिर निस्केको मौका छोपेर क्याथरिनलाई सोधेँ, “ए क्याथरिन, तिमीलाई घरिघरि यो रेचलले बोल्दा–बोल्दैको फोन किन दिन्छे हँ ?” आखिर मेरो अनुमान सही ठहरियो । रेचल ब्रिटिस भएकीले ऊ आफ्ना अमेरिकी ग्राहकका कुरा राम्रोसँग बुझ्दी रहिनछ र क्याथरिनलाई फोन दिने गर्दिरहिछ । यो थाहा पाउँदा मलाई एक किसिमको रमाइलो अनुभव भयो ।

 

दिनहुँ पाण्डुलिपि पढ्ने र रिपोर्ट तयार पार्ने एकै प्रकारको कामले मलाई वाक्क लाग्न थालिसकेको थियो । अलि नयाँनयाँ काम सिक्न पाए नि हुन्थ्यो भन्ने लागेको थियो ।

 

एक दिन काम सकिएपछि लिफ्टबाट ओर्लंदै गर्दा अन्य सहकर्मीहरूलाई सोधेँ, “के तिमीहरूले यहाँ नयाँ कुराहरू सिकिरहेका छौ त ?” मेरो प्रश्नको जवाफमा एउटीले उत्साहित हुँदै भनी, “अँ, सिकिरहेका छौं । रमाइलै भइरहेको छ ।” मैले ‘ए’ भनेंँ । अनि चुप लागेँ ।

 

करिब दुई महिनापछि मैले इन्टर्नसिप छाड्ने निधो गरेंँ, तर छाड्नुभन्दा पहिले डेभिडको पुस्तक के भइरहेको होला भन्ने जान्न मन लाग्यो । मैले डेभिडलाई लिंक्डइनमार्फत् मेसेज गरेर फेरि सोधँे । त्यसको केही घण्टापछि डेभिडको जवाफ आयो, “राम, रेचलका सम्पादकहरूसँग कुरा भइरहेको छ पाण्डुलिपि सम्पादनका लागि ।” लिटेरेरी एजेन्सीको व्यापार पुस्तक सम्पादनसम्म फैलिएको हुँदोरहेछ भन्ने कुरा पहिलोपटक प्रस्ट भयो मलाई ।

 

अब मैले न्युयोर्कमै रहेको पुस्तक मार्केटिङ तथा सेल्फ÷पब्लिसिङ कम्पनीमा नयाँ इन्टर्नसिप सुरु गरेँ, जुन तेस्रो थियो । त्यस कम्पनीकी मालिक रेजिना थिई । उसले इन्टर्नसिप सकिनासाथ पार्ट–टाइम काम दिने कुरा सुनाउँदा म खुसीले मख्ख परेको थिएँ । अब जागिरका लागि न्युयोर्क छोड्न नपर्ने भयो भनेर । केही साता बिते । यसैबीच मैले पुनः डेभिडलाई लिंक्डइनमार्फत उसको पुस्तक के हुँदै छ भनेर सोधेँ । उसले रेचलको सम्पादकमार्फत् पुस्तक पुनर्लेखन गर्दा मँहगो पर्ने र पुनर्लेखनपछि पनि ठूला प्रकाशकले छाप्ने ग्यारेन्टी नहुने कुरा मलाई सुनायो । अब के गर्ने होला भनेर सुझाव पनि माग्यो ।

 

मैले डेभिडलाई आफूले त्यहाँ काम छाडेको र अहिले नयाँ कम्पनीमा सुरु गरेको कुरा सुनाएँ । उक्त कम्पनीले उसले चाहे उसको पुस्तक ‘सेल्फ पब्लिसिङ’ गरिदिने कुरा पनि बताएँ । तर डेभिड भने उल्टै पैसा तिरेर आफ्नो पुस्तक सेल्फ–पब्लिस गर्ने सोचमा थिएन । ऊ कुनै ट्«याडिसनल अर्थात् प्रतिष्ठित प्रकाशकमार्फत आफ्नो पुस्तक छाप्न चाहन्थ्यो ।

 

रेजिनाले मलाई इन्टर्नसिपबाट सीधै जागिर दिने कुरा गरेकी हुँदा मैले काम पाउने आशामा अलि बढी नै मिहिनेत गर्न थालेंँ । इन्टर्नसिप नै भए पनि कोट र टाई लगाएर काममा जान थालेँ ।

 

करिब साढे दुई महिनापछि रेजिनाले अचानक मलाई पहिला बताएअनुसार काम दिन नसक्ने कुरा सुनाइ । म छाँगाबाट खसेजस्तो भए ! “राम, अहिले मसँग बजेट छैन त्यसैले तलाईं मैले काम दिन असमर्थ छु ।” यति भन्दै उसले मैले चाहेमा इन्टर्नसिप तुरुन्तै छाड्न सक्ने कुरा पनि भनि ।

 

 

त्यस दिन कामपश्चात् म लिफ्टबाट तल ओर्लें र सुइँसुइँ हिँड्न थालेँ । हिँड्दै गरेको न्युयोर्कको त्यो झकिझकाउ फिफ्थ याभेन्यु पहिलोपटक अँध्यारो देखेँ । पढाइ सक्नासाथ ठूला पब्लिसिङ कम्पनीमा काम पाइसकेका अमेरिकी साथीहरूलाई सम्झिएँ । अझै ग्रोसरी स्टोरतिरै काम गर्दै जागिर एप्लाई गर्दै गरेका थोरै साथीहरू सम्झेर चित्त बुझाएँ । ज्याक्सन हाइट्स जाने रेल स्टेसनसम्म आइपुग्दा अघिल्लो इन्टर्नसिपमा डेभिडको पाण्डुलिपि पढ्दै गरेका दुई इन्टर्नहरूको अनुहार सम्झिएँ । आखिर कामका लागि न्युयोर्क छाड्नुपर्ने भयो, रेल चढ्दै गर्दा म एक्लै फुसफुसाएँ ।

 

यसको करिब दुई महिनापछि म जागिरका लागि टेक्सस हान्निएँ ।

 

मेरो जागिर एक मेडिकल कम्पनीको पब्लिसिङ डिपार्टमेन्टमा थियो । कम्पनीकी निर्देशक क्यारेन थिई । अन्तर्वार्ता उसैले लिएकी थिई र उसलाई नै मैले कामको साप्ताहिक रिपोर्ट बुझाउनुपर्थ्यो । पहिलो र जिम्मेवारीपूर्ण काम भएको हुँदा यसले एक वर्ष बिहानदेखि बेलुकीसम्म मलाई पुरै व्यस्त बनाइदियो !

 

कम्पनीमा वर्षौं बिताएकी क्यारेनसँग काम गर्न यति सजिलो होला भन्ने मैले कल्पना पनि गरेको थिइनँ । उसलाई थाहा नभएको केही थिएन, जस्तो कि कुन फाइल कहाँ छ, कुन कर्मचारी कहिले नियुक्त भयो र कहिले काम छाड्यो, उसले के नयाँ कुरा कम्पनीमा ल्यायो, आदिआदि । यस्तो लाग्थ्यो, त्यो सम्पूर्ण पब्लिसिङ डिपार्टमेन्टका लागि क्यारेन टी. एस. इलिएट नै हो ।

 

मेरो छेवैको स्टेसनमा अर्की को–वर्कर थिई । उसको नाम मार्था थियो । उसलाई नबोल्ने मान्छे फिटिक्कै मनपर्दैनथ्यो । ऊसँग सम्बन्ध सुधार्नु छ भने मुसुक्क हाँसेर बोलिदिए पुग्थ्यो । जस्तो कि तिम्रो छोराको खबर के छ ? यसपालिको भ्याकेसनमा कहाँ घुम्न जाने योजना छ ? तिमीले लगाएको ज्याकेटको कलर मलाई असाध्यै मनपर्याे । जब एक–दुई दिन म मार्थासँग बोल्न बन्द गर्दथेँ अर्थात् बिर्सन्थेँं, उसँग मेरो सम्बन्ध बिग्रेजस्तो हुन्थ्यो र बिनाकारण बिग्रँदो सम्बन्धले थप उचाइ लिन्थ्यो ।

 

बिस्तारै मैले न्युयोर्कमा इन्टर्नसिप गर्दा पढेका पाण्डुलिपिहरू बजारमा छापिएर आएको देखेंँ । केही ठूला प्रकाशनबाट छापिएका थिए भने केही साना र मझौला प्रकाशन गृहबाट । ओहो, डेभिडको पुस्तक छापियो कि छापिएन होला । कार्य व्यस्तताले झन्डै बिर्सिइसकेको डेभिडको मलाई एक्कासि सम्झना आयो ।

 

“हेल्लो डेभिड, तपाईंको पुस्तक के हुँदै छ ?” लिंक्डइन खोलेर मैले डेभिडलाई एउटा मेसेज लेखेँ ।

 

त्यस साँझ कोठामा गएर लिंक्डइन खोलेँ, डेभिडले जवाफ पठाएको रहेछ । “रेचलले पुनर्लेखनको लागि सम्पादकको शुल्क ज्यादै महँगो लाग्ने भनेपछि अहिले बोस्टनको एक सम्पादकसँग कुरा गरिरहेको छु, राम ।” जवाफमा मैले ‘गुडलक्’ भनेँ र आफू पनि जागिरको लागि टेक्सस आएको कुरा लेखेँं । उसले तुरुन्तै फेरि अर्को म्यासेज पठायो, “राम, मेरो पुस्तक प्रकाशन हुनासाथ सबैभन्दा पहिला मैले तिमीलाई नै भन्नेछु ।”

 

काम सुरु गरेको करिब दुई वर्ष पुग्नलाग्दा अचानक म काम गर्ने विभागमा नयाँ निर्देशक नियुक्त भयो । क्यारेनलाई निर्देशकबाट सिनियर एडिटर बनाइयो । ऊ खुसी नै देखिन्थी । पहिले त सिनियर एडिटर र निर्देशकमा को ठूलो होला भन्नेमा अलमल्ल भएजस्तो गरेँ । अनुभवी र मिहिनेती क्यारेनको बढुवा हुनुपर्नेमा किन सिनियर एडिटर भई भन्ने कुरामा मलाई जिज्ञासा लाग्यो । यसैबीच सहकर्मी मार्थालाई यो कुरा सोधँें । उसले गोलमटोल जवाफ दिई । अमेरिकीहरू व्यक्तिगत लाभभन्दा आफू काम गर्ने संस्थाको हितमा बढी केन्द्रित हुँदा रहेछन्, मैले बुझेजसो गर्दै एउटा निष्कर्ष निकालेँ ।

 

टेक्ससमा काम गर्न थालेको करिब साढे दुई वर्ष पूरा भयो । अब त डेभिडको पुस्तक पनि छापियो होला ! मनमनै सोचेँ । र एकछिन काम रोकेर तुरुन्तै उसलाई एउटा मेसेज लेखेँ, “तिम्रो पुस्तक छापियो त, डेभिड ?” भोलिपल्ट प्रतिउत्तरमा उसले आफू केही समय बिरामी भएको र बोस्टनको एक सम्पादकसँग पुनर्लेखनका लागि सम्झौता गरिसकेको कुरा बतायो । अर्को म्यासेजमा उसले एडिटरसँग गरेको सम्झौतापत्र र उनीहरूबीच भएका वार्तालापको स्क्रिनसट पनि मलाई पठायो ।

 

केही समयपछि क्यारेनको पछाडि आएको नयाँ निर्देशक ६ महिना नपुग्दै कामबाट निकालियो । यो कुरा मैले अफिस गएपछि मात्र थाहा पाएँ । ‘हायर र फायर हुन त बेरै छैन होइन, मार्था ?’ मैले काम गर्दागर्दै जुरुक्क उठेर मेरी सहकर्मीछेउ गएर सोधेँं । उसले आफूलाई भने नयाँ निर्देशक फायर हुने संकेत बेलुका नै मिलेको कुरा सुनाई । एकछिन त मलाई झनक्क रिस पनि उठ्यो । तिमीहरू आँखाको भाकामा कुरा गर्छौ अनि के को थाहा नहुनु त ? आफैंले मात्र सुन्ने गरेर बोल्दै म कुर्सीमा आएर थपक्क बसँें ।

 

कुनै पनि बेला आफू पनि कामबाट फायर हुन सक्ने कल्पनाले म एकछिन अत्तालिएँ । एकपटक लिंक्डइनमार्फत् डेभिडलाई सम्पर्क गर्न खोजेँं ।

 

अफसोच्, उसले त मलाई लिंक्डइनमा ब्लक गरेको रहेछ, यसपालि । म स्तब्ध भएँ । तीन वर्षदेखिको हाम्रो कुराकानी, मैले उसलाई उसको पुस्तक प्रकाशनका लागि दिएका सर–सल्लाह सबै लिंक्डइनमा दोहोर्याएर हेरेँं । नराम्रो केही थिएन । ब्लक गर्नुपर्ने कारण केही भेटिनँ ।

 

मलाई डेभिडले किन ब्लक गर्यो होला ? यस्तै कौतुहलताले मलाई त्यस रात अबेरसम्म निद्रा लागेन ।

 

बिहान ब्युझँदा भने लिंक्डइनमा उसले मलाई किन ब्लक गर्यो भन्नेमा भन्दा पनि अमेरिकी प्रकाशन गृहबाट आफ्नो पुस्तक छपाइ छाड्ने डेभिडको सपना पूरा भयो कि भएन भन्ने जिज्ञासाले बढी सतायो !

 

This article was originally published on Baahrakhari.com.

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments