आधा दिन: नोबेल पुरस्कार विजेता एक लेखकको कथा
RAMCHANDRA KC (Translator)
April 23, 2020
त्यहाँ म त्यस्ता केटीहरूसँग प्रेममा परें आखिर त्यस्तै केटीहरूमध्ये कोही न कोहीसँग बिहे गरेर जीवनको गाडी चलाउन पर्दोरहेछ ।
मैंले बाबाको दाहिने हात बेसरी समाएको थिएँ । लम्किरहेका उहाँका पाइलाहरूलाई भेट्नका लागि मैले स-सानो दौड नै सुरु गर्नुपर्यो । एकदमै नयाँ पहिरनमा सजिएको थिएँ – नयाँ जुत्ता, हरियो रङ्गको विद्यालय पोसाक र हामी मुसलमानहरूले टाउकोमा लगाउने टार्बुस । नयाँ लुगामा म एक किसिमले खुशी नै थिएँ । साथसाथै मनमा एकप्रकारको अव्यक्त भय पनि फैलिरहेको थियो । कारण म कुनै भोज वा पार्टीमा जान लागेको थिइन । वास्तवमा मलाई जीवनमै पहिलोपटक जवरजस्ती विद्यालय लगिँदै थियो ।
आमाले झ्यालमै उभिएर हामीलाई हेरिरहनुभएको थियो । म पनि घरिघरि उहाँतिरै हेर्थे । मानौँ मैले उहाँसँग कुनै आपतकालीन सहयोगका लागि हारगुहार गर्न खोज्दै छु । बँगैचा, बालीनालीका फराकिला फाँट, नासपती र एकादुई खजूरका बोटहरूले सीमाङ्कन गरेको सडकैसडक बाबुछोरा हिडिरह्यौँ ।
“मैले के गल्ती गरेको छु र जाने विद्यालय?” मैले बाबालाई सिधै भनें । “अब आइन्दा म तपाइँलाई कहिल्यै पिरोल्ने छैन ।”
“मैले तिमीलाई विद्यालय लगेर सजाय दिन लाग्या हो त लाटा,” उहाँले हाँस्दै भन्नुभयो । “विद्यालय जानु कुनै सजाय होइन । यो त एउटा यस्तो ठाउँ हो जहाँ तिमीजस्ता कलिला बालकलाई ठूलो मान्छे बनाइन्छ । के तिमी आफनो बाबा र दाइजस्तै ठूलो मान्छे बन्ने हैन?”
मलाई त अझै विश्वास लागेको थिएन बाबाले मलाई यसरी घरको ममताबाट अलग्याएर कुनै फाइदानजक अपत्यारिलो संसारमा लग्दैछन् भन्ने कुरामा । अन्त्यमा हामी एक भव्य भवनअगाडि आइपुग्यौँ । त्यो भवन सडकको अन्तिम किनारामा उभिएको थियो । अग्ला पर्खालले घेरिएको उक्त भवन भूतबङ्गला जस्तै निष्पट्ट र नरामाइलो थियो ।
प्रवेशद्वारमा पुग्दा हामीले भित्र चौरमा केटाकेटीको ठुलै जमात चिच्याउँदै र रमाउँदै गरेका देख्यौँ । “ल, अब तिमी यहाँबाट भित्र जाऊ र तिनीहरूसँगै खेल्न थाल,” बाबाले भन्नु भयो । “सधैँ हँसिलो भएर सबैको सामुन्ने एउटा नमुना बन्नुपर्छ, बुझ्यौँ ?”
म अलमल्लमा परेर बाबाको हातमै झुण्डिरहेँ । “अब तिमी असल बन्नुपर्छ,” उहाँले मलाई भित्रतिर धकेल्दै भन्नुभयो । “आजैदेखि तिम्रो नयाँ जीवनको शुरुआत हुन्छ । ल जाउ भित्र, छुट्टी भएपछि म तिमीलाई यहीं पर्खिरहने छु ।”
म एकदुई पाइला अगाडि बढें, केहीबेर रोकिएँ र चारैतिर हेरें । केही देखिन । त्यसपछि भने मजस्तै स-साना केटाकेटीहरू खेलिरहेको साहै रमाइलो दृश्य देखें । तर त्यहाँ मैले चिनेको एकजना पनि थिएन न त मलाई चिन्ने नै कोही थिए । मैले आफूलाई बाटो बिराएको पदयात्री जस्तो ठानिरहेको थिएँ र सबैजनाले उत्सुक भएर मैलाई हेरिरहेका थिए । एउटा ठिटो सिधै मेरो छेउमा आयो र आफ्नो कलिलो लवजमा सोध्यो, “तिमी यहाँ कोसँग आएको?”
“बाबासँग,” म सानो स्वरमा सासले बोलें । “मेरो त बाबा पनि हुनुहुन्न । अस्तिनै मरिसक्नु भयो,” उसले सजिलै भन्यो ।
म अक्क न वक्क परें । रोएकोजस्तो दयालाग्दो क्वाँइय आवाज निकाल्दै प्रवेशद्वारको ढोका बन्द भयो । केही केटाकेटी खुशीले उफ्रिए । घण्टी बज्यो । एउटी महिला सरासर हामीतिरै आईन् । उनीसँगै पर एउटा जत्था पनि थियो । तिनीहरूले हामीलाई स-साना झुण्डमा छुट्याए । हामीलाई तीनैतिर वरिपरि तलैतला भएका अग्ला भवनले घेरिएको बिशाल चौरमा बक्ररेखामा उभ्याइयो । मानिसहरूले प्रत्येक तलाका काठे बार्दलीबाट हामीलाई नै हेरिरहेका थिए ।
“आजदेखि यो तिम्रो नयाँ घर,” ती महिलाले भनिन् । “यहाँ पनि तिम्रो घरमा जस्तै माया गर्ने बाबा र आमा छन् । यहाँ धर्म र संस्कृतिसँग सम्बन्धित ज्ञान बढाउने रमाइला रमाइला कुरा सिक्न पाइन्छ । मेरो सानु! आँसु पुछ । अब तिमीले खुशीपूर्वक जीउन सिक्नुपर्छ, बुझ्यौ ?”
त्यहाँ हामीलाई प्रशस्तै व्यवहारिक कुरा सिकाइयो । हामी खुब रमायौँ । जीवजन्तु रूप फेरिएर दोस्रो जीवमा रूपान्तर भएका कुरा सुन्न पाउँदा हामी दङ्ग पर्यौं । जीवनमै पहिलोपटक मेरो मनले त्यस्ता केटा साथीहरू चुन्यो जुन मैले सामाजिक बन्नका लागि गर्नैपर्ने रहेछ । त्यहाँ म त्यस्ता केटीहरूसँग प्रेममा परें आखिर त्यस्तै केटीहरूमध्ये कोही न कोहीसँग बिहे गरेर जीवनको गाडी चलाउन पर्दोरहेछ । बाल्यकालका ती कल्पनाशील रोजाइहरू वास्तवमा कुनै भ्रम नभै जीवनकै शास्वत सत्य पो रहेछन् । विद्यालय त्यतिबिघ्न सुसज्जित, रमाइलो र सुसम्पन्न होला भन्ने त मैले कल्पनै गरेको थिइन । त्यहाँ हामीले सबैखाले खेलहरू जस्तै पीङमा मच्चिने स्विङ, काठको घोडा फड्किने भल्टिङ् हर्स र भकुण्डो आदि खेलहरू खेल्यौँ । सङ्गीतकक्षमा हामीहरू सँगै मिलेर गीत पनि गायौँ ।
पहिलोपटक हामीलाई अरबी भाषाको परिचय दिइयो । त्यहाँ हामीले पृथ्वीको एउटा ग्लोब पनि देख्यौँ जहाँ विभिन्न देश र महादेशलाई छुट्याउने रेखाहरू छरपस्टै कोरिएका थिए । हामीले गन्तीका अङ्कहरू पनि सिक्यौं । त्यहाँ हामीलाई ब्रम्हाण्डको सष्टिकर्ताको कथा पढेर सुनाइयो । त्यसबेला हामीलाई सर्वशक्तिमान ईश्वरको लौकिक र अलौकिक संसारको बारेमा बताइयो । परमात्माले बोलेका करालाई उदाहरणका रूपमा प्रस्तुत गरियो । हामीले स्वादिष्ट भोजनको मजा लियौँ । केहीबेर आरामका लागि त्यही पल्टियौँ । तर तुरुन्तै आपशी माया र मित्रताले भरिएको मन लिएर साथीसँग खेल्न र नयाँ कुरा सिक्न उठ्यौँ ।
विद्यालयमा हाम्रा हरेक पल स्पष्ट र रमाइला थिए यद्यपि सपनाजस्तै पूर्ण भने थिएनन् । घरिघरि धुलो मिसिएको हावा र भइपरी आउने दुर्घटनाबाट जोगिनका लागि हामी सतर्क र धैर्यवान बन्नुपर्यो । बेलाबेलामा हामीबीचको सम्बन्ध एकआपसको हाँसोठट्टा र रमाइलोमा मात्र सीमित हुन्थेन । प्रतिस्पर्धीले एकआपसमा दुःखकष्ट समेत निम्त्याउँथे जसका कारण साथीहरूमाझ मारामार समेत चल्थ्यो । यस्तोवखत ती महिला घरि मुसुमुसु हाँस्थिन् त घरि रिसाएर आँखा तर्थिन् । उनी हाम्रो सातो जाने गरेर बम्किन समेत बेर लाउँदिनन् । अझ भनौँ अति भयो भने त उनले हामीलाई लाइनमा ठड्याएर शारीरिक यातनासमेत दिन्थिन् ।
यसका अलावा त्यहाँ यताउता मन डुलाउने मौका नै मिल्थेन र घरिघरि घरको रमझमको सम्झना गर्न पाइन्थेन । हाम्रो अगाडि धैर्यवान भएर निरन्तर सङ्घर्ष गर्दै अगाडि बढ्नुबाहेक कुनै बिकल्प नै थिएनन् त्यहाँ । हुलमूलमा रमाउन नसक्ने केटाकेटीहरूलाई खुशी पार्नका लागि दिइने अवसरहरू टाठाबाठाले नै खोसिहाल्थे बेलाबखत् ।
त्यसैबीचमा दिन सकिएको र छुट्टी भएको जनाउघण्टी बज्यो । कटाकेटीहरूको ठूलै भीड भर्खरै खुलेको मूलगेटतिर ओइरियो । मैले आफ्ना साथीसङ्गिनीतर्फ बिदाइको हात हल्लाउँदै बाहिर निस्किएँ र यताउता हेरें । तर त्यहाँ बाबालाई देखिन । बिहान उहाँले विद्यालय छुट्नासाथ मलाई त्यही कुरेर बस्ने वाचा गरेर जानुभएको थियो । म विद्यालय बाहिर मूलद्वारको छेउमा बाबा आउने बाटो हेर्दै बसिरहें । आशाको त्यान्द्रो नचुडिन्जेल म धैर्यपूर्वक त्यही बसिरहें ।
अन्तमा मैले एक्लै घर जाने निर्णय गरें । केही पाइला अघि बढेपछि एउटा अधबैंसे मेरो छेउबाट पार भयो । उसलाई कहीँ कतै देखेजस्तो लाग्यो । ऊ मुस्कुराउँदै मैतिर आयो र मेरा कलिला हात समाउँदै भन्यो, “तपाईंको खबर के छ त ठूलो मान्छे, धेरै समयपछि भेट भइयो नि हैन ?” बिस्तारै टाउको हल्लाउँदै मैले ‘हो’ भने र सोधे, “अनि, अनि तपाइँलाई कस्तो छ नि ?” “हेर न देखेकै छौ नि, त्यति राम्रो छैन र पनि सर्वशक्तिमान ईश्वरलाई सम्झिन भने छाडेको छैन ।”
ऊ मसँग हात मिलाउँदै बिदा भयो र केहीबेरमै मेरो नजरबाट बिलायो पनि । म केही पाइला अगि बढें तर सहरमा अचानकको परिवर्तन देख्दा म तीनछक परें । बाब्बा ! दुवैछेउमा बँगैचाद्वारा सिमाङ्कन गरिएको सडक कहाँ गएछ अहिले ? बिलायो कि क्या हो ? यतिबिघ्न सवारी साधनहरू कतिखेर ओइरिए ? हुलका हुल मानिसहरू कहाँबाट आए ? सडकको छेउ नै ढाक्ने पहाडजत्रा फोहरका डङ्गुर कसरी आइपुगे ? सडकका दुवैछेउका रमणीय चाक्ला फाँटहरू कहाँ विलाए ? त्यहाँ त अग्ला-अग्ला गगनचुम्बी भवनमात्र थिए । सडकभरि केटाकेटीहरू चिच्याउदै उफ्रिरहेका थिए र उनीहरूको आवाजले हावा नै गुञ्जायमान भइरहेको थियो । ठाउँठाउँमा जादुगरले टोकरीबाट सर्प निकालेर आफ्ना जादु देखाइरहेका थिए । त्यसपछि एउटा वाद्यवादकको समूह सर्कस सुरु भएको प्रचार-प्रसार गर्दै हिँडेको देखियो । उनीहरूका अगाडि जादुगर र गह्रौँ भारी उठाउनेहरू हिँडिरहेका थिए । केहीबेरमै सडकमा सैनिकहरूको टुकडी बोकेको ट्रकको एउटा पङ्क्ति गुडिरहेको अनौठो दृश्य देखियो । ठीक त्यसैबेला एउटा वारुणयन्त्र साइरन बजाउँदै आयो । खै, यसले कसरी पो आगोले सखाप पार्न लागिसकेको ठाउँमा पुग्नका लागि गाडीहरूको यत्रो पंक्ति छिचोल्न सक्ला । एकजना ट्याक्सी चालक र उसको यात्रुबीच मारामार चलिरहेको दृश्य देखियो । यात्रुकी स्वास्नी सहयोगका लागि चिच्याउँदै थिई र पनि यो दृश्यको कसैलाई वास्तै थिएन ।
हे ईश्वर! त्यतिबेला म कस्तो घोर आश्चर्यमा परेको थिएँ भने । मेरो त रिँगटा लागेर टाउको फुट्ला जस्तो भएको थियो । झन्डै पागल भएको थिएँ । सबेरैदेखि साँझसम्मको आधादिनमै यतिबिघ्न घटना कसरी घट्न सकेहोलान् ? निश्चय नै मैले घरमा पुगेर बासँग यिनको जवाफ माग्नेछु । तर खै त मेरो घर ? मैले त खाली अग्लाअग्ला घर र हुलका हुल मानिसमात्र देखिरहेको छु । म बँगैचा र आबु खौदा सडकको चौबाटोमा उभिएर बाटो काट्ने मौका कुरिरहेको थिएँ । घर पुग्नका लागि सर्वप्रथम मैले त्यो सडक पार गर्नुपर्दथ्यो तर पक्तिबद्ध भएर गुडिरहेका कारहरूले मलाई बाटो काट्नै दिएनन् । वारुणयन्त्रको आवाज पूरै ध्वनि ओकलेर शङ्खेकीराको गतिमा सडकमा विस्तारै चिप्लँदै थियो । “लौ, आगोले ध्वस्त पार्ने भयो,” म एक्लै बोलें । म एकदमै अधैर्यपूर्वक बाटो पार गर्ने मौका पर्खिरहेको थिएँ ।
म त्यहाँ त्यतिन्जेलसम्म उभिएँ जतिवेला नजीकैको आइरन पसलमा काम गर्ने केटो मेरो छेवैमा आयो । उसले आफ्ना दुवै पाखुरा फैलायो र चेपारो पार्दै करायो, “ए मेरो सानो हजुरबा, ल आउनोस् म बाटो कटाइदिन्छु ।”
Enjoyed reading the story!
Enjoyed reading the story! Well translated one.
Well translated story, a nice reading experience.
Thank you, Sushant!
Worth reading!
Thanks so much for taking your time to read it, Ashok!
बिहान देखि साँझ फर्कदासम्मको परिवर्तन हो कि बाहिरी संसार बाट पनि धेरै सिक्न सक्छन् भन्ने अासय हो अलि कठिन भो बुझाइ सर, तर गेट कम्पाउण्डिङ बच्चाको लागि भुत घर नै हो ।